वि.सं:
नेपाल संवत: ११४५ ञलाथ्व पञ्चमी - ५
सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
सार्वजनिक वित्तको क्षेत्रमा कार्यरत जनशक्तिलाई दक्ष र सीपयुक्त बनाउन तालिम सञ्चालन गर्ने, सार्वजनिक वित्त सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया, गोष्ठी तथा कार्यशाला सञ्चालन गर्ने र सार्वजनिक वित्तको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने गराउने उद्देश्यले नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत स्थापना भएको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र अग्रणी सार्वजनिक संस्थाको रूपमा स्थापित छ। संवत् २०३७ साल फागुन २९ गते राजस्व प्रशासन तालिम केन्द्रको रुपमा स्थापना भएको यो संस्था नेपाल सरकारको मिति २०७५।१।४ को निर्णयबाट सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा परिवर्तन भई आफ्नो उद्देश्य अनुरुप कार्य सञ्चालन गर्दै आइरहेको छ।
केन्द्रले सार्वजनिक वित्तको क्षेत्रमा कार्यरत जनशक्तिलाई तालिम प्रदान गर्न तालिम आवश्यकता पहिचान गर्ने, तालिम पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्ने, तालिम म्यानुअल तयार गर्ने, सेवा प्रवेश, सेवाकालीन, विशिष्टिकृत तथा अल्पकालीन तालिम सञ्चालन गर्ने, सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया‚ गोष्ठी र कार्यशाला सञ्चालन गर्ने‚ अर्धवार्षिक रुपमा राजस्व पत्रिका प्रकाशन गर्ने लगायतका कार्यहरु नियमित रुपमा सम्पादन गर्दै आएको छ। केन्द्रले सन् २०१९ मे २० मा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रमाणपत्र (ISO 2001:2015) प्राप्त गरेको छ। केन्द्रलाई सार्वजनिक वित्त सम्बन्धी महत्वपूर्ण अभिलेखहरु संग्रह गरी सुरक्षित रुपमा राख्ने अभिलेख केन्द्र (Documentation Centre) को रुपमा विकास गर्ने लक्ष्य लिइएको छ।
तालिम केन्द्रको दृष्टिकोण (Vision)
सार्वजनिक वित्तको कुशलतापूर्वक व्यवस्थापन गर्न राजस्व तथा आर्थिक प्रशासनमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गरी संस्थागत सुदृढीकरण गर्न सघाउ पुर्याउने।
लक्ष (Mission)
तालिम, गोष्ठी, परामर्श, अन्तरक्रिया र अध्ययन अनुसन्धानको माध्यमबाट सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा पेशागत दक्षता तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने ।
उद्देश्य (Objectives)
• सार्वजनिक वित्तको क्षेत्रमा कार्यरत जनशक्तिलाई दक्ष र सीपयुक्त बनाउन तालिम संचालन गर्ने।
• सार्वजनिक वित्त सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया गोष्ठी र कार्यशाला संचालन गर्ने।
• सार्वजनिक वित्तको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने गराउने।